![]() |
भिडियो नचलाएपनि बसको बाहिर ‘भिडियो कोच’ लेखेर देखाउने लहर बढ्यो । हुँदाहुँदा कतिले टेलिभिजन राख्ने ठाउँमा सिरक कोचेर पनि ‘भिडियो कोच’ भन्दै बस चलाए ।

हुन पनि यस्ता बस चल्न थालेपछि यात्रु सकेसम्म सामान्य खालको बसमा चढ्न मन गर्दैनन् । ‘सिटमा बस्ने बित्तिकै यात्रुले प्लेनको जस्तो सुविधा भनेर गुनगान गाउँछन्, तर सडकको हालत देखेर चाहिँ उनीहरुले अमिलो मुख बनाउने गरेका छन्’ मेट्रो बस चलाउने श्याम गिरीले भन्नुभयो ।गत वर्षको दशैंदेखि यातायात व्यवसायीहरुले एसी र डिलक्स सेवाका बसलाई प्राथमिकता दिन थालेका हुन् । यस वर्षको दशैंमा पनि टिकट बुकिङ गर्नेहरुले यस्तै बस रोज्ने गरेका छन् । ‘यात्रुले खोजेजस्तो पर्याप्त बस त छैनन्, तर अधिकांश बस एसी र डिलक्स नै हुन्’ सिटौलाले भन्नुभयो ।
उहाँले भनेजस्तै दशैंमा भीड हुने बेला सबैले एसी र डिलक्स सुविधा भएका बसमा यात्रा गर्न पाउँदैनन् । तर यस्तै बसमा चढ्न पाए हुन्थ्यो भन्ने यात्रुको संख्या चाहिँ दिनप्रतिदिन बढिरहेको छ ।
सुविधै सुविधा
पूर्वका विभिन्न जिल्लामा चल्ने मेट्रो, मितेरी, मकालु, सितालगायतका बसले एसी र डिलक्स सेवा दिएका छन् । यस्तै पश्चिममा चल्ने महाकाली, सुदूरपश्चिम, साकिरालगायत कम्पनीको पनि एसी र डिलक्स सेवाका बस छन् । यी बसका अगाडि, पछाडि जता बसेपनि उत्तिकै आरामदायी र सुविधा हुने व्यवसायीहरु बताउँछन् ।
एसी बसमा एसी, पंखा, लचकतार र आरामदायी सिट लगाएका सुविधा हुन्छन् । डिलक्समा चाहिँ एसी बाहेकका अरु सुविधा हुन्छन् । यी बसमध्ये कतिले यात्रुलाई आफैं खाना खुवाउँछन् । पानी, कुरकुरे र अरु खानेकुराको सुविधा पनि छ । ‘सबैभन्दा मुख्य कुरा यस्ता बसले बीचमा यात्रु चढाउने र अनावश्यक रुपमा रोक्ने गर्दैनन्’ सिटौलाले भन्नुभयो ।एसी र डिलक्स बस सुरु भए लगत्तै अरु बसमा यात्रु कम मात्रै चढ्ने गरेको व्यवसायीहरुको भनाई छ । ‘पूर्व र पश्चिमका मुख्य शहरसँगै पोखरा, बुटवल लगायतका धेरै शहरमा यस्ता बस चल्न थालिसकेका छन्’ सिटौलाले भन्नुभयो, ‘यही स्थितिमा जाने हो भने अबको एक वर्षमा साधारण बस बिस्थापित भैसक्छन् ।’
पर्यटक बसमा भन्दा पनि राम्रो सुविधा एसी र डिलक्स बसले दिने गरेको व्वसायी बताउँछन् । पूर्व र पश्चिममा चल्ने झण्डै ५ सय बसमा एसी र डिलक्स सुविधा छ । सुविधा धेरै भएकाले यस्ता बसको भाडादर पनि बढी छ । ‘सुविधा अनुसार पैसा दिन यात्रु तयार देखिन्छन्’ सिटौलाले भन्नुभयो, ‘डिलक्समा सामान्य बसमा भन्दा २० प्रतिशत र एसीमा ४० प्रतिशत बढी भाडा पर्छ ।’
नयाँ बस थपिँदै

दशैंमा यात्रुको चापलाई ध्यानमा राख्दै नयाँ बस थप्ने तयारी भएको छ । काठमाडौं, वीरगञ्ज, नारायणघाट, विराटनगर, झापा, बुटवल, नेपालगञ्ज लगायतका ठाउँमा नयाँ गाडी बनाउने काम धमाधम भैरहेको व्यवसायीले बताएका छन् । झण्डै दुईसय वटा नयाँ बस थप्ने तयारी भएको व्यवसायीको भनाइ छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कोषाध्यक्ष सरोज सिटौलाका अनुसार छिट्टै सञ्चालन गर्नेगरी नयाँ बस बनाउने काम भैरहेको छ । अहिले बनिरहेका नयाँ बसमध्ये धेरैजसो एसी र डिलक्स नै हुने उहाँले बताउनुभयो । ‘तर लोडसेडिङका कारण निर्माणको काममा समस्या भएको छ’ सिटौलाले भन्नुभयो–‘सबै बस दशैंसम्म तयार होला या नहोला भन्नेमा आशंका छ ।’
एसी र डिलक्स बसमा आकर्षण बढेपनि अरु बसमा भन्दा सिट कम हुने भएकाले धेरै यात्रु अटाउन सक्दैनन् । सामान्य बसमा ४२ वटा सिट हुने भएपनि एसी र डिलक्स बसमा ३१ वटा मात्रै सिट हुन्छ । एसी बसलाई ६५ लाख र डिलक्सलाई ५८ लाख रुपैंया पर्ने व्यवसायीहरुको भनाइ छ ।
यति महंगो हालेर बस चलाएपनि सडक त्यसअनुसार स्तर उन्नति हुन नसकेको भन्दै व्यवसायीले गुनासो गरेका छन्
![]() |
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला