Latest News

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

Subscribe

नेपाली गीतहरु सुन्नुहोस

Followers

Tuesday, October 8, 2013

नामार्दकि स्वास्नी सबैको भाउजु

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला
केही अघि बर्दियाको एउटा घरमा भारतीय प्रहरीले गरेको खानतलासीलाई लिएर धेरै समाचार पढ्न पाइयो । तिनै मध्येको एक थियो, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले त्यसै घटनामाथि प्रतिक्रिया दिंदै 'अपडेट' गरेको  'फेसबुक स्टाटस'लाई आधार बनाएर एउटा अनलाइन समाचार साइटले बनाएको 'मेन न्युज' । डा. भट्टराईको 'स्टाटस'को 'लिड' यस्तो थियो, 'नामर्दकी स्वास्नी सबैकी भाउजू....।' उखानको अर्थसमेत खुलाइएको थियो यसरी 'अर्थात कमजोरलाई सबैले हेप्छन् ।'
Sabitri Gautamजनताको घर-घरमा गएर बास बसेका देशका प्रत्येक कुना-कुना छामेका पूर्व प्रधानमन्त्रीलाई समाजमा प्रचलित यस्ता उखान थाहा हुने नै भयो र उहाँजस्ता 'इन्टेलेक्च्युअल' नेताले  त्यसको अर्थ खुलाउनु पनि कुनै नौलो कुरा भएन । तर एकाबिहानै कफीसंँगै अनलाइनमा  खबरहरू पढ्दै गर्दा मलाईचाहिं पिउँदै गरेको कफी नै तीतो भएजस्तो लाग्यो । सोचें, असाध्यै अध्ययनशील भनेर चिनिएका पीएचडी होल्डर डा. भट्टराईले यतिधेरै उखानमध्ये 'जो होँचो उसको मुखमा घोँचो' भन्ने उखानचाहिं सुन्न, पढ्न भ्याउनुभएनछ कि क्या हो ! कम्तीमा यसले त्यसलाई 'रिप्लेस' गरिदिएको भए अलिकति कम नमीठो सुनिन्थ्यो कि ? अर्थ त दुबैको एउटै लाग्छ क्यारे । सानैदेखि बुबाले हामीलाई बेला-बेला सम्झाइराख्ने एउटा प्रसंग सम्झेंँ, 'आमा' र 'बाउकी स्वास्नी' भनेका दुवै एउटै व्यक्ति हुन्, फरक शब्द छनोटको मात्रै हो ।'
मैले केही समयअघि नेपाली समाजमा प्रचलित केही उखान संकलन गरेकी थिएँ । ती मध्ये अधिकांश उखानका पात्र महिला छन् । अत्यन्तै होच्याएर बनाइएका यस्ता उखानहरू 'भर्वल भाइलेन्स' अर्थात् शाब्दिक हिंसाका सबैभन्दा निकृष्ट उदाहरणजस्ता लाग्छन् । यस मध्येका केही उखान यस्ता छन्- 'राँडीलाई ढोग गर्‍यो, मै जस्ती भएस् -भन्छे)', 'कुन्ताकी बुहारी भटमास खाएकी', 'बोक्ली ब्याउलीभन्दा मुत्नकै सास्ती', 'लाटाको खुट्टा बाटामा' आदि ।
पहिलो उखान 'राँडीलाई ढोग गर्‍यो मै जस्ती भएस्' को अर्थ हुन्छ, श्रीमानको मृत्यु भएकी महिलालाई ढोग गरे ढोग्ने महिलालाई पनि मै जस्तै भएस् अर्थात श्रीमान मरोस् भन्ने श्राप दिन्छिन् । अर्थात् प्रतिष्ठा र हैसियतमा कमजोर व्यक्तिको संगत गरे उसले आफूलाई 'नि त्यस्तै बनाउँछ । दोस्रो उखानले यसै पनि कमजोर स्वास्थ्य भएकी बुहारी त्यहीमाथि भटमास खाएर बिरामी परेको -पखाला लागेको हुनुपर्छ) र घरको कामकाज गर्न नसकेको भन्ने अर्थ लगाउँछ । तेस्रो उखानको  पहिलो शब्द 'बोक्ली'को अर्थ हो बिहे गरेर ल्याइएकी बुहारी गर्भवती होली 'ब्याउली' अर्थात् बच्चा जन्माउली भनेको त पिसाब फेर्नसमेत नसक्ने भई । यी दुवै उखानले स्थिति सप्रेलाभन्दा झनै बिग्रँदै गएको भन्ने जनाउँछन् । तेस्रो उखानले त एउटी महिला बिरामी पर्नुलाई समेत कुनै गल्ती या अपराधको दर्जामा राखेजस्तो सुनिन्छ । 'लाटाको खुट्टा बाटामा' ले चाहिं 'केही गर्ने खुबी नभएको व्यक्तिले झुक्किएर कुनै काम राम्रो गरेको' भन्ने अर्थ लाग्छ ।
केही वर्षअघि डा. भट्टराईले कुनै एउटा राजनीतिक दललाई  'तेस्रो लिंगी' शब्दले गरेको सम्बोधन निकै चर्चित भएको थियो । त्यसबाहेक ठूलठूला सभासम्मेलनहरूमा राष्ट्रियस्तरकै नेताहरूले सरकार 'अन्धो' भयो, 'लंगडो' भयो, 'बहिरो' भयो भनेर कुर्लेका 'बहुचर्चित' भाषण  समाचारमा आइराख्छन् । नाम कमाएका साहित्यकारले पनि आफ्ना रचनामा अन्धा, लंगडा, बहिराजस्ता शब्दको प्रशस्त प्रयोग गरेर तिनलाई सार्वजनिक कार्यक्रमहरूमा सगौरव सुनाउँछन् । अझ विडम्बना कतिपय यस्ता कार्यक्रममा दृष्टिविहीनता, सुस्त श्रवण या अन्य शारीरिक अपांगता भएका व्यक्तिहरू स्वयं उपस्थित हुन्छन् । नजिकै भए त कतिपयले लाज पचाइ पनि हाल्छन्, 'सरी है, तिमीलाई भनेको हैन है ।'
२०६२/६३ को आन्दोलन र गणतन्त्र घोषणापछि नेपाली समाजमा सबैभन्दा बढी 'पपुलर' बनेको शब्द हो, 'समावेशी' । गत माघदेखि चैत्ासम्म भारतको बम्बैमा यसैसम्बन्धी एउटा कोर्स 'कम्युनिटी इनिसियटिभ्स  इन इन्क्लुजन' पढ्दै गर्दा हाम्रा 'टे्रनर'हरू 'समावेशी समाज' अर्थात् 'इन्क्लुसिव सोसाइटी'को परिभाषा दिंदै भन्थे, 'समावेशी समाजमा सबै व्यक्ति समाजका प्रत्येक गतिविधिमा निर्धक्क र समान रूपमा सहभागी हुन्छन् । जात, रंग, वर्ग, लिंग, उमेर, धर्म,  आर्थिक, शारीरिक या मानसिक क्षमता वा अपांगतालाई आधार बनाएर उनीहरूमाथि कुनै पनि प्रकारको हिंसा वा भेदभाव हुँदैन, बरु समाज नै उनीहरूका लागि जरुरी पर्ने 'फ्लेक्जिबिलिटी' र 'एडजस्टमेन्ट'का लागि सधैं तयार रहन्छ ।' त्यतिखेर म आफ्ना 'प्रेजेन्टेसन'हरूमा गौरवसाथ सुनाउँथेँ, 'हाम्रो देशको त शैक्षिक प्रणाली 'नि एकदम 'इन्क्लुसिव छ, औपचारिक शिक्षाका लागि उमेरको कुनै छेकबार छैन, हजुरबा-नाति, सासू-बुहारी एउटै कक्षामा समेत पढेका थुप्रै उदाहरण छन् । उल्टै पाको उमेरका व्यक्तिले स्कुल-कलेज गएर पढेको कुरालाई समाज र सञ्चार दुबैले एकदम 'एपि्रसियट' पो गर्छन् ।'
महाराष्ट्रमा २० वर्ष उमेर कटेपछि त्यहाँको 'एसएससी' -हामीकहाँको एसएलसीजस्तै) मा सामेल हुन नपाइने नियम भएको सुनाउने मेरा भारतीय टे्रनरहरूले ओहो !  हो र ! कस्तो राम्रो ! भनेपछि म झन् हौसिन्थँें र थप्थेंँ, 'हाम्रो त संविधानसभा नै 'इन्क्लुसिव' थियो । त्यहाँ सबै जाति, वर्ग, क्षेत्रका र अपांगता भएका व्यक्ति लगायत तेस्रो लिंगीको समेत प्रतिनिधित्व थियो ।' यो एउटा गर्व गर्नलायक उपलब्धि लाग्थ्यो मलाई आफ्नो देशको । नागरिकतामै 'तेस्रो लिंगी' लेख्न पाउने व्यवस्था गरेर मेरो देश समावेशीको क्षेत्रमा अझ एक कदम बढी 'प्रोग्रेसिव' भएजस्तो लाग्थ्यो मलाई ।
कुरा व्यक्ति विशेषको पार्टी विशेषको भन्दा पनि संस्कारको हो । मानिसको दिमागमा जरा गाडेको संस्कार यति बलियो हुँदोरैछ, त्यसलाई हामी सबैले कागजी सर्टिफिकेटका ठेलीले जतिसुकै थिचेर राखे पनि बेला-बेला प्रकट भई नै हाल्दोरैछ, 'नामर्दकी स्वास्नी  सबैकी भाउजू', 'मर्दकी दसवटी', 'लाटाका खुट्टा बाटामा' जस्ता उखानको रूपमा वा 'यो सरकार त अन्धो, बहिरो र लंगडो भइसक्यो' जस्ता भाषणको रूपमा भए पनि । तर हाम्रै संस्कारले सिकाएको छ हामीलाई, 'मान्छे जन्मले हैन, कर्मले ठूलो हुन्छ', 'छालाका आँखाभन्दा ज्ञानका आँखाको महत्त्व धेरै छ' जस्ता कुरा पनि । 'वचनको घाउ निको हुँदैन' भन्ने वाक्य पनि हाम्रै सस्ंकारले हामीलाई दिएको सरल तर सुन्दर पाठ हो ।
कुनै पनि व्यक्तिको आफ्नो रूप, रंग, जात, लिंग वा शारीरिक, मानसिक सबलता -या दुर्बलता) जन्मजात हुन्छ । आफ्नो वशमा हुँदो हो त हामी आफूले चाहेजस्तै रूपरंग लिएर चाहेको परिवार, वर्ग वा देशमै जन्मिन्थ्यौं होला । कसैको प्रकृतिप्रदत्त गुण, स्वभाव वा शारीरिक बनावट वा क्षमतालाई होच्याएर यस्ता उखान या सम्बोधन जसले बनाए, तिनीहरूले पनि सायद खासै ठूलो 'मर्दाङ्गी' गरेनन् । १०० वटा छोरा जन्माएका महाभारतका धृतराष्ट्रको 'मर्दाङ्गी' के काम, जसले आफ्नो वंशसहित सारा देशै नाश गर्‍यो ।
कहिलेकाहीं घरमा अनावश्यक कुरामा मूर्खतापूर्ण विवाद गर्दै गरेका हामी 'डिग्री होल्डर' छोराछोरीलाई हेरेर आमाले गाली गर्नुहुन्छ, 'आफूले पढ्न नपाउँदा र मान्छेले 'नपढेका मान्छे' भनेर हेपेको सुन्दा 'कस्ता हुन्छन् होला पढेलेखेका मान्छे ? मेरा छोराछोरीले पढ्लान् नि भोलिपर्सि !' जस्तो लाग्थ्यो, तिमीहरूलाई देखेपछि त 'यस्ता पो हुँदारैछन्' जस्तो लाग्न थाल्यो ।' साँच्चै 'नयाँ पुस्ता' भनेको त पुरानोभन्दा 'अपडेटेड' हुनु पो हो । हामी नयाँ पुुस्ताका 'पढेलेखेका'हरूले देखाउने  'मर्दाङ्गी'  भनेको त यस्ता गलत शब्द, प्रचलन र संस्कारको भारीलाई आफ्नो काँधबाट मिल्काउन सक्नु र राम्रा संस्कारलाई बाचय राखेर भविष्यको पुस्तालाई हस्तान्तरण गर्नु पो हो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

No comments:

Post a Comment

के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला