![]() |
सल्यान, जेष्ठ ६ - खानेपानीको हाहाकार भएपछि सल्यान कारागारका कैदीलाई पानीको चरम समस्या भएको छ । खानेपानीको अभाव भएपछि कारागारले एक कैदीलाई बिहान एक जग तथा बेलुका एक जग पानी उपलब्ध गराउने गरेको छ ।
बीस जना कैदी राख्ने क्षमता भएको जिल्ला कारागार सल्यानमा अहिले ६२ पुरुष र १० जना महिला गरी र दुई बालबालिका गरी ७४ जना कैदीबन्दी छन् ।
धारामा आउने पानीले नपुगेपछि कारागारले शारदा नदीबाट ट्याङ्करबाट बोकेर ल्याएको पानी प्रतिट्याङ्कर दुई हजार ५०० का दरले किनेर दिने गरेको छ । तर बजेट अभावले पानी किनेर खुवाउन समस्या भएको जिल्ला कारागार सल्यानका जेलर विक्रम केसीले बताउनुभयो ।
जेलर केसीले भने, पानी बिजुली शीर्षकमा रु एक लाख ८० हजार आउँछ, हामीले अहिले विद्युत् महसुलवापतको रकमले पनि पानी किनेर खुवाउनुपरेको छ ।
केसीले भन्नुभयो, “पानी किनेर कैदीलाई खुवाउँदा रु एक लाखभन्दा बढी रकम खर्च भइसक्यो, विद्युत्लाई तिर्नुपर्ने रु एक लाखभन्दा बढी छ, विद्युत्को रकम पानीमा खर्च गर्दा अर्को समस्या सुरु भएको छ ।”
कारागार प्रशासनले उपलब्ध गराउने पानीले नपुगेपछि कतिपय कैदीले आफ्नै पैसाले किनेर खाने गरेको कैदी सेतीराम बोहराले बताए ।
कारागारभित्र पानीको समस्या भएपछि कैदीलाई नुहाउन तथा कपडा धुन निकै समस्या भएको छ । कारागारमा खानेपानीको अभाव सुरु भएपछि आफूहरूले एक, दुई महिनादेखि राम्रोसँग नुहाउन र कपडा धुन नपाएको कैदीहरूले बताए ।
कारागार शाखाका अनुसार कतिपय कैदीले महिनामा एकपटक पानी किनेर नुहाउने गर्छन् भने कतिपयले लामो समयदेखि नुहाउन पाएका छैनन् ।
![]() |
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला