![]() |

सेवाग्राहीसँग घूस लिँदालिँदै नापी कार्यालय भक्तपुरका अमिनसहित दुई जना पक्राउ परेका छन् ।
कीर्तिनिधि जिमीको जग्गा नापी गर्न घूस लिएपछि अख्तियारको निर्देशनमा भक्तपुर प्रहरीले सिन्धुपाल्चोक बालाजोर ३ घर भएका अमिन दोजेन्द्र काफ्ले र लेखनदास भक्तपुर नगरपालिका २ का सुरेश गनेजुलाई नियन्त्रणमा लिएको हो ।
सापिक दिव्यश्वरीको जग्गा नापी गरे पनि फाइलमा हस्ताक्षर गर्न घूस मागेपछि जिमीले अख्तियारमा जानकारी गराएका थिए । अख्तियारले भक्तपुर प्रहरी प्रमुख एसपी जगतमान श्रेष्ठलाई छापा मार्न निर्देशन दिएको थियो । त्यसका आधारमा जग्गाधनीले आफ्नो काम गराउन अमिनले मागेजति रकम दिएलगत्तै उनलाई प्रहरीले पक्राउ गरेको हो । एसपी श्रेष्ठका अनुसार जग्गाधनीले आफ्नो काम गराउन अमिनलाई दुई हजार रुपैयाँ घूस दिएका थिए ।
त्यस्तै, लेखनदास गनुजुलाई पनि घूस दिन सहयोग गरेको आरोपमा नियन्त्रणमा लिइएको छ । काफ्लेले सर्वसाधारणसँग आफ्नै कार्यकक्षमा बसेर घूस लिएका थिए । 'सेवाग्राहीले दिएको रकम पर्समा समेत राख्न पाएको रहेनछ,' प्रहरी स्रोतले भन्यो, 'पीडितको फाइल लेखनदासको हातमा थियो । नापी प्रमुखले कर्मचारीको शरीर खानतलासी गर्न समेत दिएका थिएनन् । अख्तियारको निर्देशन भनेपछि मात्रै दिए ।'
जग्गाधनीले अमिनलाई दिएको हजारको नोटमा रहेको नम्बर प्रहरीलाई टिपाइएको थियो । त्यस्तै, उक्त पैसामा हस्ताक्षर समेत गरिएको थियो । प्रहरीले खानतलासी गर्दा त्यही नोट भेटेको थियो । तत्काल गर्न सकिने काम पैसा नदिएको भन्दै केही दिनदेखि झुलाएको सेवाग्राहीले गुनासो गरेका थिए । तर, घूस दिएपछि तत्काल काम गरिदिएका थिए । पक्राउ परेका दुवैलाई कारबाहीका लागि आयोगमा पठाएको श्रेष्ठले बताए ।
स्रोतका अनुसार नापीका सर्भेयर र अमिनले सर्वसाधरणको जग्गा नापजाँच गर्न कम्तीमा दुई हजार रुपैयाँ नदिएसम्म जान मान्दैनन् । भक्तपुर नापी मात्र नभई त्यसको मातहतमा रहेको कौशलटार शाखाका कर्मचारी पनि यसै गर्छन् ।
मालपोत कार्यालयमा भने कर्मचारीले घूस लिने पुरानो ढर्रा परिवर्तन भएको स्रोतले बतायो । त्यहाँका कर्मचारीले लेखनदासमार्फत एकमुष्ठ लिने गर्छन् । लेखनदासले सेवाग्राहीसँग जग्गा पास गर्नुअघि कागजपत्र लेखेको र पास खर्च भन्दै एकमुष्ठ लिन्छन् र त्यही रकम मालपोतका कर्मचारीलाई भागबन्डा गरी दिने गरेको स्रोतले जनाएको छ
![]() |
No comments:
Post a Comment
के छ तँपाईको प्रतिक्रिया याहाँ दिनुहोला ताजा ताजा समाचार मुजिक भिडियो हेर्न तथा विभिन्न जानकारीमुलक गधीबिधिहरु हेर्न रामेछाप सैलुङस्वोरी भिजिट गर्नुहोला